दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३, पिपलचौराका २७ वर्षीय भीम श्रेष्ठ दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारीमा छन्। उहाँ नरबहादुर श्रेष्ठ र नन्द देवी कला श्रेष्ठका एक्ला छोरा हुन्।
वि.सं. २०७४ सालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका भीमले करिब ९ वर्षसम्म प्रत्यारोपित मिर्गौलाको सहारामा जीवन बिताए। तर हाल पुनः मिर्गौलामा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको परिवारले जनाएको छ।

लगातारको उपचार र प्रत्यारोपण प्रक्रियाका कारण परिवारमाथि ठूलो आर्थिक भार परेको छ। हालसम्म शुभेच्छुकहरूबाट करिब २ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भइसकेको परिवारले जानकारी दिएको छ। तर प्रत्यारोपण, उपचार, औषधि तथा अन्य आवश्यक खर्चका लागि अझै ठूलो रकम आवश्यक पर्ने भएकाले परिवारले सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरेको छ।
समाजसेवामा रुचि राख्ने भीम विभिन्न सामाजिक गतिविधिमा सक्रिय रूपमा सहभागी हुँदै आएका व्यक्ति हुन्। उहाँको स्वास्थ्य उपचारका लागि अहिले साथीभाइ, आफन्त तथा शुभेच्छुकहरू सहयोग जुटाउने अभियानमा सक्रिय रूपमा जुटेका छन्। उनीहरूले सबै दातृमनहरूलाई आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरी भीमको जीवन बचाउने अभियानमा साथ दिन अनुरोध गरेका छन्।
परिवारले सानोभन्दा सानो सहयोगले पनि उपचारमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै भीमको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभका लागि सबैसँग सहयोग र शुभेच्छाको अपेक्षा गरेको छ।
