धनगढी, १२ असार । “लागु औषधको चुनौती चिनौँ : सामाजिक समाधानको बाटो खोजौँ” भन्ने मूल नाराका साथ आज धनगढीमा लागु औषध दुरूपयोग तथा अवैध ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस-२०८३ भव्यताका साथ मनाइएको छ। सामाजिक विकास कार्यालय र मूल समारोह समिति कैलालीको संयुक्त आयोजनामा विशेष सचेतना र्याली तथा सभा सम्पन्न भएको हो।
धनगढीको ट्राफिक चोकबाट सुरु भएको उक्त सचेतना र्याली मुख्य बजार परिक्रमा गर्दै पार्क मोडमा पुगेर समापन भएको थियो। र्यालीमा सहभागीहरूले लागु औषध विरुद्धका सचेतनामूलक प्लेकार्ड र ब्यानरहरू बोकेका थिए।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री बेल बहादुर रानामगर, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र सामाजिक विकास मन्त्रालयका सचिव देव राज जोशीको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी सुरक्षा निकायका तर्फबाट नेपाल प्रहरीका एसपी नरेन्द्र चन्द र सशस्त्र प्रहरीका एसपी होम बहादुर केसी लगायतको उपस्थिति थियो।
र्यालीमा सामाजिक विकास मन्त्रालयका कर्मचारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा स्थानीय सर्वसाधारणको ठुलो संख्यामा सहभागिता रहेको थियो। समापन पश्चात् आयोजित सभामा बोल्दै वक्ताहरूले लागु औषधको बढ्दो दुरूपयोग र अवैध ओसारपसार रोक्न कानुनी प्रयासका साथै सामाजिक चेतना र ऐक्यबद्धता अपरिहार्य रहेको कुरामा जोड दिएका थिए।
