डडेलो नियन्त्रणका लागि छैन पूर्व तयारी, सरोकारवाला मौन
जाजरकोट । जाजरकोटमा वनमा वर्षेनी आगो लाग्छ । कुनै वर्ष त एउटै वनमा तीन पटकसम्म आगो लागेको पाइन्छ । पतझड प्रजातिको बाहुल्य भएको हुनाले हिउँदमा सुकेर झरेका पातले वनमा आगो लाग्न इन्धनको काम गर्छन् । कतिपय प्रजातिमा तेलजन्य वा खोटोजन्य पदार्थ हुनाले ठूलो आगलागीमा हरियै रुख विरुवा पनि जल्छन् ।

वनमा हुने आगलागीको मुख्य कारण हिउँदमा र चैत–जेठमा पर्ने सुख्खापन हो । कतिपयले हरियो घाँस पलाउने आशमा पाखो वारीमा आगो लगाउँछन् । त्यही आगो ठूलो बनेर जंगलमा पस्छ । जंगलमा पसेको आगो निभाउन कसैको ध्यान जान नसकेको अधिकारकर्मी दिनेश श्रेष्ठले बताए । ‘सिकारीले मृग मार्नका लागि पनि वनमा आगो लगाउने गरेको पाईन्छ, उनले भने, ‘बर्षाै वन जल्छ, कसैको पनि मन जल्दैन् ।’

आगलागी नियन्त्रणका लागि सरोकारवाला निकायहरुको पूर्व तयारी समेत छैन् । जंगलमा रहेका स—साना बोटविरुवा मासिन्छन्, चराचुरुङ्गीका गुडहरु नष्ट हुन्छन् । लोपउन्मुख वन्यजन्तुले अकालमा ज्यान गुमाउछन् । बर्षाै देखि वन जल्छ तर कसैको मन नजल्ने गरेका बारेकोट गाउँपालिका —०२ का राजेन्द्र रोकायले बताए ।

आगलागी गर्नुहुदैन् भन्ने कुरा बुझेर पनि स्थानीयले लाउन छाडेका छैनन्, सरोकारवाला निकायले आगलागी रोकथामका लागि कुनै पहल गरेका छैनन् उनले भने, ‘वन जलेर सखाप हुन्छ, न कसैलाई कारवाही हुन्छ, न रोकथामका लागि पहल हुन्छ ।’ डढेलोबाट वर्षेनी धेरै वनजङ्गलको नोक्सानी हुने भए पनि यसको न्यूनीकरण गर्न सरकार वा समुदायले खासै चासो दिएको पाइदैन । वन डढेलोबाट ठुलो आर्थिक नोक्सानीका साथै पैसामा तुलना गर्नै नसकिने गरी जीविका,जैविक विविधता र वातावरणको क्षति हुन्छ ।

यहाँ वन डढेर वर्षेनी के कति आर्थिक, पर्यावरणीय नोक्सान हुन्छ भनेर मिहिन अनुसन्धान र लेखाजोखा भएको छैन तापनि औसतमा वन डढेलोले अरु प्रकोपले भन्दा बढी प्रत्यक्ष एवं अप्रत्यक्ष आर्थिक क्षति गर्छ । मानिसहरूले जानाजान आगो सल्काएर वा असावधानीपूर्वक वनमा फालेको आगो फैलिएर आगलागी हुने गर्छ । धेरै समुदायमा ख¥यान, झाडी, बुट्यान, वनमा डढेलो लगाएपछि घाँस राम्रो पलाउँछ भन्ने छ । वर्षा भएपछि आगो लागेका पाखा वा मैदानमा हरियो घाँस पलाएको देखिने हुनाले मानिसहरू आगो लगाउँछन् । त्यसैले मानिसहरूले नै वन, पाखामा आगो लगाउँछन् ।

घाँसे मैदानमा केही वर्षको अन्तरालमा, नियन्त्रित रूपमा गरिने आगलागी केही हदसम्म उपयुक्त हुन सक्छ । तर, बर्षेनी आगो लगाउनु उपयुक्त हुँदैन । केही नगरे पनि वनले उत्पादन दिइरहन्छ, जति आगो लागे पनि वन आफै हुर्कन्छ, पानीका मुहान स्वतः पलाउँछन्, हामीले केही गर्न पर्दैन, उपभोग मात्रै गरे पुग्छ भन्ने भ्रमले वन तथा जलाधार संरक्षणमा समुदाय र राज्यको यथेष्ठ ध्यान पुगेको छैन । वनमा केही हदसम्म मात्रै प्राकृतिकरूपमा पुनर्भरण हुने क्षमता हुन्छ । प्रकृतिको पुनःस्थापना क्षमता भन्दा अत्यधिक दोहनले हाम्रा वन र जलाधार पुनर्जीवित हुन नसक्ने गरी बिग्रने जोखिममा छन् ।

आगलागीले वनका बोटबिरुवा, बिउ बिजन, कीट, जीवजन्तु, पशुपन्छी जलाउँछ । प्राकृतिक स्रोत र धेरै प्राणीहरूको बासस्थान र खाद्य–शृङ्खला नष्ट गर्छ । वर्षेनी जथाभावी लाग्ने आगोले तत्कालै मौजुदा वन र जीवजन्तुलाई नोक्सान गर्छ र अन्ततः वनको पुनरुत्पादन क्षमता नै नष्ट गरिदिन्छ । अत्यधिक डढेलो र चरिचरणले हाम्रा वनजङ्गल क्षेत्र मरुभूमिकरण हुन थालेका छन् ।

वर्षेनी लाग्ने डढेलोले समग्र जलाधारको प्राकृतिक अवस्था खल्वल्याउँछ । आगलागी भैरहने पाखोमा पहिरो जाने संभावना बढी हुन्छ । आगलागीले वनका बोटबिरुवा, बिउ बिजन, कीट, जीवजन्तु, पशुपन्छी जलाउँछ । प्राकृतिक स्रोत र धेरै प्राणीहरूको बासस्थान र खाद्य–शृङ्खला नष्ट गर्छ । वर्षेनी जथाभावी लाग्ने आगोले तत्कालै मौजुदा वन र जीवजन्तुलाई नोक्सान गर्छ र अन्ततः वनको पुनरुत्पादन क्षमता नै नष्ट गरिदिन्छ । अत्यधिक डढेलो र चरिचरणले हाम्रा वनजङ्गल क्षेत्र मरुभूमिकरण हुन थालेका छन् ।

वनमा आगो लाग्ने घटना नयाँ होइनन् । तर अहिले डढेलोको संख्या र त्यसले गर्ने नोक्सानी बढिरहेको छ । अर्कोतर्फ, वनमा आगो लाग्नबाट जोगाउने, लागेको आगो निभाउने सामाजिक परिपाटी विकास भएको छैन । सार्वजनिक सम्पत्ति भएकोले मानिसहरूले वनमा लागेको आगोनिभाउने अग्रसरता लिँदैनन् । सामान्य साधन र जनशक्तिले निभाउन संभव पनि हुँदैन ।
डढेलो नियन्त्रण गर्न सरकारको कुनै कामयावी योजना छैन । वर्षेनी सरकारी कर्मचारी र प्रायोजकहरू जम्मा भएर विभिन्न बजारमा (होटेल) मा डढेलो नियन्त्रण सम्बन्धी गोष्ठी गर्छन्, उता वन जलिरहन्छन् ।

वन–क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जिल्लाको अर्थतन्त्रमा टेवा पु¥याइरहेको छ । उल्लेख्य संभावना रहेको पर्यटन क्षेत्रको ठुलो हिस्सा वनक्षेत्र र प्राकृतिक सम्पदामा निर्भर छ । वनको प्राविधिक व्यवस्थापन गर्नुपर्छ भन्ने राजनीतिक सुझबुझको विकास हुन नसकेको कुशे गाउँपालिका —०८ का स्थानीय रमेश पौडेलले बताए ।

डढेलोको जोखिम पुरै उन्मुलन गर्न संभव छैन तापनि नियन्त्रण गर्ने र क्षति कम गर्ने प्रावधिक र व्यवस्थापकीय उपायहरू छन् । सुकेका रुखपातहरू समयमै निकालेर अरु काममा उपयोग गरे धेरै हदसम्म डढेलोको जोखिम कम हुन्छ । ठुलो वन क्षेत्र भए पनि खण्ड–खण्ड गरी व्यवस्थापन गर्न सकिन्छ । वन भित्र अग्नि नियन्त्रण रेखा बनाएर आगो फैलिन नदिने उपायहरू उपलब्ध छन् । आगलागीको जोखिम बढाउने रुखपात छानेर काटछाँट गर्न, हटाउन सकिन्छ ।

संभवतः यस्ता काममा थप खर्च नलाग्न सक्छ, उचित व्यवस्थापनबाट बढ्ने वनको उत्पादन र आगलागीबाट बच्ने वनबाट थप आर्थिक तथा पर्यावरणीय लाभ लिन सकिन्छ । यता, डिभिजन वन कार्यालय जाजरकोटमा प्रमुख राधाकृष्ण दासले आगलागी नियन्त्रणका लागि पालिका स्तरीय सर्वदलीय समिति गठन गरी काम गरिहेको बताए । आगलागी नियन्त्रणका बारेमा वेलावेला सचेतनाका कार्यक्रम हुने समेत प्रमुख दासले बताए । आगलागी नियन्त्रण गर्न सक्ने औजारहरु सव डिभिजन मार्फत वितरण गरिरहेको उनको भनाई छ । वन जलिरहेपनि, स्थानीय र सरोकारवालाहरुको मन जल्न नसकेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय