जाजरकोट । बर्खा सुरु भईसकेको छ । लगातारको बर्षातले अधिकांश ठाउँ बाढी पहिरोको उच्च जोखिममा छन् । भेरी नगरपालिका ‒०५ इबरमा पहिरोले घर भत्किदा एक जनाको ज्यान नै गईसकेको छ । कुशे गाउँपालिकाको स्थानीय खोलामा आएको बाढीले बगाउँदा स्थानीय एक शिक्षकले ज्यान गुमाए । गत कार्तिक १७ गते गएको भूकम्पले झनै पहिरोको जोखिम थपिएको छ ।

दुई जिल्लाका दुई दर्जन भन्दा बढी गाउँहरु तत्काल स्थानान्तरण गर्न आग्रह गरिएको छ । भूगर्भविद्ले हालै गरेको स्थलगत अध्ययनले ती बस्तीहरू बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै तत्काल स्थानान्तरणका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको हो । जाजरकोटका २२ गाउँ र रुकुम पश्चिमका ६ गाउँलाई तत्काल सुरक्षित स्थानमा नसारे ठूलो क्षति हुन सक्ने भूगर्भविद्ले चेतावनी समेत दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले जियोटेक सोलुसन्स इन्टरनेसनल प्रालिमार्फत जाजरकोट भूकम्पले निम्त्याएको पहिरोको जोखिमको विस्तृत अध्ययन गर्ने जिम्मेवारी दिएको थियो । जियोटेकले दर्जन बढी भूगर्भविद् र इन्जिनियरहरूलाई अध्ययनका लागि केही समय अघि जाजरकोट र पश्चिम रुकुम खटाएको थियो । भूगर्भविद्ले गरेको भौगर्भिक अध्ययन र स्थलगत अवलोकनका आधारमा उच्च जोखिममा रहेका बस्ती तत्काल खाली गरी सुरक्षित स्थानमा सार्न अनुरोध गरिएको भूगर्भविद् एवं इन्जिनियर अनिश खनालले बताए ।

उनका अनुसार भेरी–१ को मैदे, चौपानी, चौर, बारेकोट गाउँपालिका–६ को नाउली निमयारी, वडा नं ९ को लैखम, वडा नं ५ को तोलखाना, छेडागाड नगरपालिका–२ को डेटकुले, वडा नं ३ को दलितबस्ती, लिवालबस्ती, वडा नं १२ को साँगाचौर बस्ती, वडा नं १३ को बगाहा र शिवालय गाउँपालिका–२ को दुनगारा, वडा नं ३ को सीमा, वडा नं ६ को लुपपाखा, वडा नं ७ को भिउस, नलगाड–१ को चिउरी, पाली, पुवाडाँडा, नलगाड–२ को चैतेकाफल, रुमाली, अयाना, वडा नं ४ को औलभारी बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । ती बस्ती तत्काल नसारे जति बेला पनि पहिरोले बस्ती नै सखाप पार्न सक्ने भूगर्भविद् खनालको चेतावनी छ ।

त्यस्तै रुकुम पश्चिमका सानीभेरी गाउँपालिका १ चाइनावगर, वडा नम्बर ३ गजेटाकुरी, आठवीसकोट १३ कालापहिरा र माथिल्लो कुरीधारा बस्ती पनि पहिरोको उच्च जोखिममा छन् । ती स्थानका बस्तीलाई तीन महिनासम्म सुरक्षित स्थानमा सार्न प्राधिकरणमार्फत सरकारलाई सिफारिस गरिएको भूगर्भविद खनालले बताए । ‘वर्षातको समयमा आगामी तीन महिना भूकम्पले हल्लाएर कमजोर बनेको जमिन, जमिनको बनावट र भौगर्भिक अध्ययनबाट ती बस्तीहरू जुनसुकै बेला पनि खतराउन्मुख छन् । जतिवेला पनि पहिरो खस्न सक्छ त्यसैले तत्काल बस्ती सार्न सम्बन्धित निकायलाई आग्रह गरेको छौं’, उनले भने, ‘तीन महिनापछि बस्न मिल्छ कि मिल्दैन त्यसको विस्तृत अध्ययन नै गर्नुपर्छ तर प्रारम्भिक अध्ययनले रुकुम पश्चिम र जाजरकोटका तीन सय बढी बस्ती पहिरोको जोखिममा रहेपछि २८ वटा बस्ती हाई रिस्कमा छन् । बेलैमा तिनै तहका सरकारले बस्ती जोगाउन पहलकदमी लिनु आवश्यक छ ।’

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा मंगलबार दर्जनौं ठाउँमा बाढीपहिरोको जोखिम रहेको भन्दै जोखिमयुक्त ठाउँमा सजर्कता अपनाउन आग्रह गरिएको छ । भूकम्पबाट छियाछिया भएको जमिन बस्न सुरक्षित नभएकाले ती स्थानका स्थानीयलाई सुरक्षित स्थानमा राख्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

१३ घरधुरीलाई सुरक्षित स्थानमा सारियो
भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका ३ चंखेलीडाँडाको २ घरधुरी र भेरी नगरपालिका १ च्याउ पानीका ११ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ ।
गत कार्तिक १७ गते गएको भूकम्पले जमिन चर्किएर चिरा चिरा भएकोमा लगातारको वर्षाले पहिरोको उच्च जोखिममा परेका उक्त बस्तीका स्थानीयलाई स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी शाखा जाजरकोटको समन्वयमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।

भेरी नगरपालिका ३ का २ घरधुरीका १० परिवारलाई त्रिभुवन माध्यमिक विद्यालयमा सारिएको र भेरी नगरपालिका १ च्याउ पानीका ११ घरधुरीका ४४ परिवारलाई सोही वडाको मैदेचौरमा सारिएको पाण्डेले बताए । गत कार्तिक १७ गतेको भूकम्पले नलगाड नगरपालिकाका २१ वटा बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । त्यसैगरि कुशे गाउँपालिकामा १८, शिवालय गाउँपालिकामा १, जुनीचाँदे गाउँपालिकामा ६, भेरी नगरपालिकामा ११, बारेकोट गाउँपालिकामा १० र छेडागाड नगरपालिकामा ७ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन केन्द्र जाजरकोटले बताएको छ । गत कार्तिक १७ गते गएको भूकम्पमा परि जाजरकोटमा मात्रै १०१ जनाको मृत्यु भएको थियो ।

पहिरोले अधिकांश सडक अवरुद्ध
अविरल वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएका छन् । बाढीपहिरोले जाजरकोट गाउँबस्तीमा जोडिएका ग्रामीण सडक अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । नलगाड नगरपालिका–५, कालीमाटी, खन्टाकुरा हुँदै बारेकोट गाउँपालिका तथा विभिन्न गाउँबस्ती जाने सडक पहिरोले अवरुद्ध गरेपछि यात्रुलगायत सवारीसाधन अलपत्र परेका छन् ।

बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्रलगायत ग्रामीण बस्तीमा पुग्न नसकेर सर्वसाधारण बिचल्लीमा परेका छन् । नलगाड–४ का वडाध्यक्ष बद्रीबहादुर पन्तका अनुसार कालीमाटी–खन्टाकुरा हुँदै बारेकोट जोडिएको सडकको एक दर्जन ठाउँमा पहिरो गएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा बारेकोट जाने सवारीसाधनलगायत यात्रु अलपत्र परेको वडाध्यक्ष पन्तले बताउनुभयो । सडक अवरुद्ध भएपछि नगरपालिकाको जेसिबीबाट सडक खुलाउने प्रयास गरिएको छ ।

भूकम्पले चिरा चिरा परेको जमिनमा पहिरो जान थालेपछि सडक नियमित गर्न समस्या देखिएको बताइएको छ । खानेपानीका मुहान भासिएका छन् । भिरालो जमिन एउटा गाउँबाट अर्को गाउँ हिँडेर पुग्नसमेत सर्वसाधारण डराउनुपर्ने अवस्था छ । भूकम्पले जमिन फाटेपछि पहाडदेखिमुनिका बस्तीका जनता कतिबेला पहिरो खस्छ भन्ने त्रासले जाग्राम बस्नुपर्ने अवस्था आएको भेरी नगरपालिका–१, मैदेकी रेखा विकले बताउनुभयो । सरकारले अस्थायी आवासको दोस्रो किस्ता नदिँदा थप मार परेको उहाँको भनाइ छ । यस्तै खलङ्गादेखि कुसे गाउँपालिकाको सडकमा पहिरो गएपछि यातायातका साधन अलपत्र परेका छन् । छेडागाड नगरपालिका–५, धैया, अफगान, काप्रा, बिराखोला हुँदै जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र पराले जाने सडकको ठाउँ ठाउँमा पहिरो गएको छ ।

ग्रामीण भेगमा सडक अवरुद्ध भएपछि आर्थिक वर्षको अन्तिममा योजनाका भुक्तानी लिन गाउँपालिका, नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाममा आउन सर्वसाधारणले सास्ती पाउन थालेका छन् । असारमा बन्द भएका सडक असोज नलागेसम्म खुल्ने अवस्था छैन । असार महिनामा बाढीबाट कुसे गाउँपालिकामा एक जना, पहिरो आएर घर पुरिँदा भेरी नगरपालिका–५ मा एक बालक गरी दुई जनाले ज्यान गुमाएका छन् । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बर्खा लागेसँगै असार, साउन र भदौ महिनामा सर्वसाधारणलाई विपत्का घटनाबाट सुरक्षित हुन आग्रह गर्नुभएको छ । बर्खाको समयमा जीवन बचाउनु नै ठुलो काम भएकाले संयमित भएर बस्न सबैमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय