जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका —१ रामीडाँडाकी पुतली नेपालीका श्रीमान वितेको छ बर्ष भयो । उनका दुई छोरा, दुई छोरी छन् । उनीहरुलाई स्कुल पढाउन देखि खानाको जोहो गर्न पुतलीले हैरानी खेप्नुपरेको छ ।

उनले भनिन्, ‘श्रीमान् वितेको छ बर्ष पुराभयो, छोराछोरीलाई कसरी पढाउने, के खुवाउने, कसरी पाल्ने भन्ने चिन्ताले सताईरहेको छ ।’ दैनिक छाक टार्न अरुको ज्याला मजदुरी गर्नुपर्छ, एक दिन काम नगरे चुलोमा आगो बल्दैन्’ उनले दुखेसो पोखिन् । जिल्लाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ ।

अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ । अधिकांश दलित समुदायको अर्थावस्था कमजोर भएकाले दैनिक गिट्टी कुट्ने, ढुङ्गा बोक्ने, मल बोक्ने लगायतका काम गरेर पनि बिहान बेलुकीको छाक टार्न धौधौ पर्ने गरेको उनीहरुको गुनासो छ । पढ्ने लेख्ने कलिलै उमेरमा बिहे गराइदिए, घरमा कसैको रोजगारी छैन, एक छाक टार्न पनि दशपटक सोच्नुपर्ने बाध्यता छ, बारेकोट गाउँपालिका —२ रोकायगाउँकी तोल्मासरा नेपालीले भनिन्, ‘बिहान–बेलुकी छाक टार्नकै लागि दैनिक मजदुरी नगरी सुख छैन, एक छाक खान र एकसरो लगाउन रातदिन नभनी ढुङ्गा–माटोसँग खेल्नुपर्ने बाध्यता छ ।’

गरिबीकै कारण औषधीपचार गर्ने पैसा नपाएर धेरैले अकालमा ज्यान मुमाएका छन् । दलितलाई ढुङ्गा कुटेर पनि खान नपुग्ने र पढेलेखेकाले पनि जागिर नपाउने अवस्था अझै नछुटेको स्थानीयवासी नन्दाकली विकले बताईन् । उनी जस्तै सोही गाउँकी कालिका विकको पनि पीडा पनि उस्तै छ । खाइनखाई अर्काको मजदुरी गरेर पढाएका छोराछोरी पनि जागिर नपाएर अर्काकै मजदुरी गर्न बाध्य भएको बताए । बाबुआमाको जस्तै दैनिक मजदुरी गरेर खानुपर्ने अवस्था नआओस् भन्दै शरीरलाई रातदिन पिसेर छोरालाई कक्षा १२ पास गराएँ, अहिले त्यही छोरो सानोतिनो जागिर पनि नपाएर मजदुरीमै लाग्न बाध्य भयो, दलितलाई पढेलेखेर पनि के काम छ, उनले गुनासो गरिन् ।

दुर्गम ठाउँका पढेलेखेका दलित शक्ति र पहुँच नभएकै कारण जागिरको आशा मारेर मजदुरीमै लाग्न बाध्य हुने गरेको उनको भनाइ छ । ‘पाखुरामा बल हुञ्जेल त दैनिक मजदुरी गरेर आफू र आफ्नो परिवारको पेट पालौँला, भोलि बुढेसकालमा कसरी छाक टार्ने त्यही कुराको ठूलो पिरलो छ, उनले भने । उनीहरु त प्रतिनिधी पात्र मात्र हुन् । सात वटै पालिकाका विकट गाउँबस्तीमा बसोबास गर्ने अधिकांश महिलाको पीडा एउटै हो । सानै उमेरमा बिहे गरेर धेरै सन्तान जन्माउने कारणले अधिकांश महिलालाई पाठेघर खस्ने समस्या समेत देखिएको दलित अगुवा गम्भीर नेपालीले बताए ।

कमजोर आर्थिक अवस्था भएकै कारण दुर्गमका दलित महिला उपचार गर्नुको सट्टा रोग लुकाएर बस्ने गरेको नेपालीले बताए । जिल्लाका अधिकांश दलितको जग्गा केही टुक्रा मात्र छ, त्यसमा उत्पादन पनि नगन्य मात्र हुन्छ, त्यसैले पनि कतिपय दलित अझै पनि माथिल्लो जातसँग खलो थापेर पुस्ता धानिरहेका छन्, उनले भने । गाउँमै सरकार भए पनि दलित महिलाको जीवनस्तर उकास्नका लागि अहिलेसम्म कसैले पनि सहयोग नगरेको उनको भनाइ छ । गरिबीले ग्रस्त जीवन झेल्दै दलित महिलाको जीवनलीला समाप्त हुने गरेको दलित अगुवाहरुको भनाई छ । देशमा जति व्यवस्था परिवर्तन भएपनि ग्रामीण भेगका दलित अझै पनि रोग, भोक र शोकले ग्रस्त भएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय