पुष्पराज वली
जाजरकोट । शिवालय गाउँपालिकाले प्रदान गर्ने सेवा र प्रभावकारिताको विषयमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना तथा युवा जनशक्ति परिचालन केन्द्र जाजरकोटको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।

गाउँपालिका बाट नागरिकका लागि दिने सेवा प्रवाह प्रभावकारी भयो भएन साथै आर्थिक बर्ष २०८०÷०८१ मा सञ्चालित विकास निर्माणका योजनाहरू सम्झौता अनुरूप गुणस्तर, पारदर्शी र नागरिकको अपेक्षा अनुरूप सम्पन्न भए नभएको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रममा छलफल समेत भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधी तगा नागरिकहरूबाट शिवालय गाउँपालिका बाट नागरिकहरूलाई दिने सेवा प्रवाहका बिषयमा गाउँपालिका अन्तर्गत वडा स्तरमा योजना छनौट गर्दा नागरिकहरूलाई सहभागी नगराई वडा अध्यक्षले आफै योजना तयार गर्ने गरेको, पालिकाले स्थानीहरूलाई सेवा दिन सञ्चालनमा ल्याएको एम्बुलेन्स तथा बस लामो समय देखी थन्किएको, शिक्षा क्षेत्रमा शैक्षिक सुधारका काम हुन नसकेको

साथै छात्रवृत्तिको रकम वितरण हन नसकि फ्रिज हुने अबस्थामा रहेको, कृषिका क्षेत्रमा अनुदान वितरण प्रभावकारी हुन नसक्नुका साथै कतिपय कृषिका कार्यक्रममा काम नभै बजेट फ्रिज जाने अबस्था रहेको लगायत अन्य विभिन्न शाखाका बिषयमा नागरिहरू तथा राजनीतिक दलका प्रतिनिधीले प्रश्न गरेका थिए भने उक्त प्रश्नहरूको कृषि विकास शाखा, स्वास्थ्य शाखा, शिक्षा तथा युवा खेलकुद शाखा, राजश्व शाखा, पशुपक्षि शाखा, योजना शाखा, आर्थिक विकास शाखा, महिला बालवालिका शाखा, सहकारी शाखा, बहुक्षेत्रिय पोषण शाखा, लघु उद्यम शाखा, पञ्जिकरण शाखा, रोजगार सेवा केन्द्र शाखा, न्यायीक शाखा सूचना प्रविधि शाखा र पुर्वाधार शाखाका प्रमुख तथा प्रतिनिधीले कामको प्रगती विवरण, बजेट खर्चको अबस्था संगै काम गर्दा आईपरेका चुनौती सहितको प्रतिवेदन प्रस्तुत गर्दै प्रश्नकर्ताको प्रश्नको जबाफ समेत दिएका थिए ।

त्यसैगरी कतिपय प्रश्नको जबाफ प्रमुख प्रशासकिय अधिकृत रामु ज्ञवाली, गाउँपालिका उपाध्यक्ष गीता शाही र गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले दिनुभएको थियो ।  नेपालको संविधान २०७२ मा रहेको मौलिक हक अन्तर्गत धारा २७ मा सुचनाको हकमा नागरिकलाई सार्जनिक सरोकारको बिषयमा सुचना दिनुपर्ने प्रावधान अन्तर्गत हरेक स्थानीय तहहरूले बर्षमा तीन पटक चौमासिक रूपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरी नागरिकलाई योजना तथा सेवा प्रबाहको बारेमा जानकारी गराउनु पर्ने व्यवस्था भएपनि शिवालय गाउँपालिकाले जाजरकोटमा गत २०८० कार्तिक १७ गते राती ११.४७ बजे गएको विनाशकारी भुकम्पका कारण तोकिएको समयमा सार्वजनिक सुनुवाई सम्पन्न गर्न नसकेको अबस्थामा पनि एकपटक भएपनि नागरिकहरूलाई सुचना दिने र समस्या बुझ्नुका साथै आगामी दिनका लागी मार्गदर्शनका लागी सुझाब लिने गरी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

शिवालय गाउँपालिका अध्यक्ष शेर बहादुर शाहिको अध्यक्षता सम्पन्न सार्वजिनक सुनुवाई कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष गीता शाही, नेकपा माओवादीका प्रतिनिधी मान बहादुर पुन, नेकपा एमालेका ईन्द्र बहादुर थापा र नेपाली काँग्रेसका कृष्ण बहादुर शाही समेतले सार्जनिक सुनुवाईमा स्थानीय सरकार बाट भएका कामको टिप्पणी गर्दै आगामी दिनमा स्थानीय सरकारले गर्ने दिने सेवा प्रवाह तथा काम प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउन सल्लाह सुझाब दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा ८७जनाको उपस्थिति रहेको थियो भने उक्त सनुवाइ कार्यक्रम युवा जनशक्ति परिचालन केन्द्र जाजरकोटका अध्यक्ष दिनेश कुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय