निर्माण गरिएका सडक बर्षैपिच्छे बर्खाको भलले बगाउँछ । एउटै निर्माण कम्पनीलाई ठेक्कामाथि ठेक्का थुपारिदिदा न गतिलो काम हुन्छ न करोडौं रकम बच्छ ।

जाजरकोट । डोजर लगाएर बनाएका दर्जनौँ सडक बर्खाको भलले छियाछिया पार्ने गरेको छ । न सडकमा नाली निर्माण भएका छन् । न गतिलो तरिकाले सडक खनिएको छ । असारमा बजेट सक्ने हेतुले अनिएका सडक अवरुद्ध हुने क्रम बढिरहेको छ । जमीन नै कमजोर हुने गरी निर्माण गरेका सडक वर्षाको भलले कतै भत्काएको छ भने कतै बाटो पुरिदिएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन विना खनिएका यहाँका सडकले दर्जनौँ गाउँसमेत जोखिममा पारेको स्थानीयवासी बताउँछन् । बारेकोटका अधिकांश ग्रामीण सडक वर्षाको भलले बगाउँदा अधिकांश ठाउँमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सडक निर्माण गरिएका केही ठाउँमा अहिले यातायात सेवा बन्द भएको छ । वर्षाको भलले सडक अवरुद्ध बनाएपछि सडकमा यातायात सञ्चालन हुन नसकेको हो ।

शिवालय गाउँपालिकाभित्र आन्तरिक रुपमा सञ्चालनमा रहेका केही सडक अवरुद्ध भएकाले अहिले यातायातका साधनहरु चल्न सकेका छैनन् । त्यस्तै, जुनिचाँदे गाउँपालिका भित्र गत बर्ष २० किलोमिटर सडक निर्माण गरेको थियो । अहिले सडक अवरुद्ध भएसंगै यातायातका साधनहरु सञ्चालन छैनन् । नलगाड नगरपालिकाका अधिंकाश ठाउँमा बनाएका नयाँ सडक भत्किदा त्यहाँ अहिले यातायात सञ्चालनमा छैनन् ।
सडक विभागले निर्माण गरेको नलगाडको वडा ८ स्थित मन्मै–हल्चौर सडक, कायखेत–हल्चौर सडकमा यातायात चल्न सकेको छैन् । यी सडकमा हिउँदयाममा नै यातायातका साधनहरु सञ्चालन गरिएको थियो । सडकको मापदण्डभन्दा बाहिर गएर निर्माण गरिएका कारण यातायातका साधनहरु सञ्चालन हुन नसकेको जानकारहरु बताउँछन् । बारेकोट गाउँपालिकाले यो वर्ष पनि सडकलाई पहिलो प्राथमिता राखि निर्माण गरिएको थियो ।

तर निर्माण गरिएका सडक धमाधम भत्किएर नागरिकलाई पैदल हिड्न निकै समस्या भएको छ । कुशे गाउँपालिका सबै वडामा यातायातको पहुँच पुगे पनि बर्खायाममा सबै सडक अवरुद्ध भएका छन् । वर्षाको भलले सबै सडकमा क्षति पुगेको हो । भेरी नगरपालिका भित्रका अधिकांश स्थानीय सडक पनि अवरुद्ध छन् । नयाँ निर्माण गरिएका सबै सडक अवरुद्ध भएको भेरी नगरपालिकाले जनाएको छ ।

बर्षाै सम्म करोडौँ लगाएर निर्माण गरिएका सडक अवरुद्ध भएपछि निर्माण गरिनुको कुनै सार्थक नभएको स्थानीयहरुको भनाई छ । सडक निर्माण गर्दा आवश्यक मापदण्ड पुर्याएर मात्रै गुर्न उपयुक्त छ । एक वर्षअघिको बर्खाको पानीले क्षति पु¥याएका ग्रामीण भेगका सडक अझै पनि बन्न सकेका छैनन् । जाजरकोट सदरमुकाम खलङ्गादेखि गाउँपालिका तथा नगरपालिकामा जोडिएका सडक पहिरोले अवरुद्ध छन् ।
सर्वसाधारणलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

सदरमुकामदेखि बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका र छेडागाड नगरपालिका जाने सडक अवरुद्ध भएका छन् । स्थानीय तहले लाखौँ बजेट खर्च गरी खनेका ग्रामीण सडक स्तरोन्नति नगर्दा सवारीसाधनलगायत यात्रुलाई सास्ती हुने गरेको छ । भेरी नगरपालिका–४, गैरीखालीदेखि पाँचकाटियासम्म सडक निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीले गत वर्ष काम छोडेपछि अलपत्र परेको छ ।

सदरमुकामदेखि पाँचकाटिया पुग्न सवारीसाधनलगायत यात्रुलाई सास्ती हुने गरेको छ । पाँचकाटियादेखि मालुमेला हुँदै कुशे गाँउपालिकाको थर्पु भार्मा जानका लागि स्थानीय सरकारले सडक निर्माण गरेको हो । सो सडकलाई स्तरोन्नति नगरेपछि गाउँपालिकाको प्रशासनिक केन्द्र पुग्नसमेत कठिन हुने गरेको छ । भेरी नगरपालिका–२ का बिर्खबहादुर कार्कीका अनुसार स्थानीय तहको लाखौँ बजेट सडक निर्माणमा लगानी गरे पनि बाह्रै महिना गाडी चल्ने अवस्था छैन । सरकारको बजेट बालुवामा पानी हालेसरह भएको छ । शिवालय गाँउपालिका–१, मोर्कबजारदेखि छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्र हुँदै जुनीचाँदे गाउँपालिका जोड्ने सडक पहिरोका कारण ठाउँ ठाउँमा अवरुद्ध हुँदा यात्रुले दुःख पाउँदै आएका छन् ।

भौगोलिक विकटतासँगै दुर्गम गाउँपालिका जुनीचाँदेमा गाडी जोखिम मोलेर महँगो भाडामा जाने गरे पनि स्थानीय सरकारले सडक मर्मतमा ध्यान नदिँदा लामो समय सडक अवरुद्ध हुने निश्चित छ । जुनीचाँदे गाउँपालिका–५ का दीपक शाहीले स्थानीय तहले चासो नदिएपछि जनताले दुःख पाउने गरेको बताउनुभयो । गाउँपालिकाको केन्द्रसम्म पुग्न स्थानीय सरकारले डिपिआरबिनै खनेका बाटो पहिरोले अवरुद्ध छन् ।

शिवालय गाउँपालिका, बारेकोट गाउँपालिका पुग्ने सडकको अवस्था पनि नाजुक छ । भेरी नगरपालिकाबाहेक छ वटा गाउँ तथा नगरपालिकादेखि गाउँबस्तीमा जानका लागि करोडौँ बजेट खर्च गरी खनिएका सडक स्तरोन्नति नगर्दा अवरुद्ध भएका छन् । सडक स्तरोन्नति गरी आवागमनलाई सहज बनाउन स्थानीयवासीले आग्रह गरेका छन् । शान्तिचौतारा, पाँचकाटिया, पैक हुँदै जुम्ला जोड्ने सडक ट्र्याक खुलेको १८ वर्ष पुगे पनि स्तरोन्नतिको काम कछुवा गतिमा छ । अहिले अझै गतिलो बर्षा भएको छैन तर पनि अधिकांश सडक अवरुद्ध भईसकेका छन् । जाजरकोटका गाउँगाउँमा सडक पुगे तर गाडी गुड्न सकेका छैनन् । सरकारी पक्षको कमजोर नियमन र अनुगनका कारण सडकको निर्माण गतिलो तरिकाले हुने गरेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय