जाजरकोट । मानो रोपेर मुरी फलाउने महिना हो असार । खेतीपाती गर्नका लागि बाहिर गएका किसान असारमा घर आईपुग्छन् । सिंचाई पुगेका क्षेत्रका किसानले पहिले देखि नै रोपाइ सुरु गरेपनि बर्षाको पानीको भरमा खेती गर्ने किसानका लागि असार निकै महत्वपूर्ण महिना मानिन्छ । अर्मपर्म गरेर खेतीपाती गर्ने चलन उस्तै छ ।
खेतवारीमा आफन्तहरु जम्मा भएर रोपाई गर्दा काम सकिएको थाहै हुदैन् । तर यसपटक समयमै पानी नपर्दा किसान खुशी हुन सकेका छ्रैनन् । बारेकोट गाउँपालिका ‒०२ रोकायगाउँका किसान रतनबहादुर नेपाली ८ रोपनीमा धान खेती गर्दै आएका छन् । विगतका बर्षहरुमा उनले यतिवेला धेरै खेतमा रोपाइ गरिसकेका हुन्थ्ये । तर यस पटक समयमै पानी नपर्दा उनले रोपाई गर्न सकेका छैनन् । ‘अहिले रोपाई नै गरेको छैन्, उनल्े भने, ‘खेतवारीमा सिंचाई पुगेको, आकाशे पानी गतिलो तरिकाले आएको छैन्, खहरे खोलाको मुहान फुट्नुपर्छ, अहिले पानी आएकै छैन् ।’
रोपाईका लागि कुनै तयारी गर्न नसकेको उनको भनाई छ । उनले छहरेखेत ज्यूलामा रोपाई गर्छन् । उनी यस्तै, अर्का किसान भीम बहादुर थापाले पनि रोपाई अगाडि बढाउन सकेका छैनन् । यसबर्ष खडेरीका कारण वीउ समेत गतिलो छैन् । ‘वीउ राख्ने वेलामै पानी आएन्, वीउ पनि गतिलो छैन्, उनले भने, ‘अव रोपाई गर्ने वेला भयो, तर पानी आएको छैन्, खहरे खोलामा पानी बढ्यो भने हामीलाई रोपाई गर्न सजिलो हुन्छ ।’
उनीहरु मात्रै होइनन् जिल्लाका अधिकांश किसानका खेतवारी बाँझै छन् । मूल फुट्ने गरी पानी नपर्दा रोपाई गर्न मुस्किल परेको किसानहरुले दुःखेसो पोखेका छन् । जिल्लाको सबैभन्दा बढी धान उत्पादन हुने होलु ज्यूलामा समेत धेरै रोपाई हुन सकेको छैन् ।
‘असार १५ सम्म धेरै रोपाई भईसकेको हुन्थ्यो, अहिले त मुल फुटेकै छैन्, कसरी रोपाई सुरु गर्ने ?’ किसान वीरबहादुर शाहीले भने । अधिकांश धान उत्पादन हुने गैरीखेतहरु बाँझै छन् । सात वटै स्थानीय तहमा रोपाई अघि बढ्न सकेको छैन् । यस बर्ष खडेरीका कारण झनै समस्या भएको उनीहरु बताउँछन् । पर्याप्त वर्षा नहुँदा अधिकांश खेतमा धान रोपाइँ हुनसकेको छैन ।
कतिपय ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीऊ पनि मर्न थालेको छ भने केही ठाउँमा किसानले जसोतसो गरेर रोपाई गर्न थालेका छन् । कतिपय ठाउँमा रोपाईका लागि कुनै सुरसार गरिएको छैन् । छिटफुट रुपमा वर्षा भएपनि खोलामा भेल आउने गरी अझै पानी परेको छैन । कुलोमा कहिले पानी आउला र रोपाइँ गरौँला भनी कुरेर बसेको किसान रामलाल जैसीले बताए ।
उनले भने– ‘‘खेत जोतेर ठिक्क पारेको छु, ब्याड पनि रोप्ने भइसक्यो तर कुलोमा पानी छैन ।’’ असार १५ लाग्दासमेत पानी राम्रोसँग नपरेकाले यस पटक धान उत्पादन राम्रो नहुने सम्भावना बढेको बताए । त्यसैगरी कुशे गाउँपालिका ‒९ का मोहन विकले पर्याप्त पानी नहुँदा धान रोप्न नसकेको बताए । आफ्नो अधिकांश खेत आकासेपानीको भरमा रहेकाले पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न नपाएको गुनासो गरे ।
जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख महेश आचार्यले जिल्लाभरी ३८ प्रतिशत धान रोपाइ सम्पन्न भएको बताए । यस बर्ष खडेरीका कारण जिल्लामा धेरै रोपाइ हुन नसकेको बताए । वीउ राख्ने वेला पनि मनसुन निकै कम परेको थियो, मुहान फुट्ने वित्तिकै रोपाई बढ्ने प्रमुख आचार्यले बताए । जिल्लाभरमा अधिकांश ठाउँमा आकाशे पानीको भरमा रोपाई हुने गरेको छ । मल र वीउको अभाव सधैं किसानले खेप्नुपरेको छ ।