जाजरकोट । बारेकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ महिना पुरा भयो । भूकम्प गएको केही दिनमा सरकारले मंसिर भित्रै भूकम्पपीडितलाई अस्थायी आवासमा सार्ने निर्णय गरेको थियो । तर छ महिना पुग्दा समेत पहिलो किस्ताकै लागि दुई हजार ६९८ जनाको सम्झौता नै हुन सकेको छैन् । कुल लाभग्राही ४२ हजार ५२१ रहेकोमा अहिले सम्म ३९ हजार ८२३ जनाले सम्झौता गरेका छन् ।

स्थानीय तह बाट ३८ हजार ५५० जनाले पहिलो किस्ता पाएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । ३० हजार ४३३ जनाको विपद् पोर्टलमा दोस्रो किस्ताका लागि नाम सवमिट गरिएको छ । पहिलो किस्ताको प्रखाईमा रहेका भूकम्प पीडितहरु दोस्रो किस्ता पाईदैन्की भन्ने अन्यौलमा छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यका अनुुसार जिल्लाभरी ३३ हजार ५७५ अस्थायी आवास निर्माण गरिएको छ । संघ संस्थाहरुले एक हजार ९५४ र पालिका तथा सरकारको अनुदान बाट ३१ हजार ६२१ आवास बनेका छन् । अनुसार लाभग्राही कायम भएका सबैलाई जिल्ला विपत् कोषबाट २५ हजार रुपैयाँका दरले पहिलो किस्ता गइसकेको छ । स्थानीय विपत् कोषबाट भने सबै लाभग्राहीले पहिलो किस्ताकै रकम पाएका छैनन् । स्थानीय तहको ढिलाईका कारण भूकम्प पीडित मर्कामा परेका छन् ।

भूकम्प गएको पाँच महिना सम्म दोस्रो किस्ता रकम नपाउँदा भूकम्पपीडित चिन्तित भएका छन् । सरकारले दिएको पहिलो किस्ता रकम र साहुबाट कर्जा लिएर आवास निर्माण गरेका सर्वसाधारणले पाँच महिनासम्म दोस्रो किस्ता नपाएपछि आवास निर्माणको ऋण तिर्न पीडितलाई समस्या भएको छ । कात्तिक १७ गतेको भूकम्पले घरबारविहीन भएका पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहिलो किस्ता बापत सरकारले २५ हजार प्रदान गरेको थियो ।
भेरी नगरपालिका–१, रावतगाउँकी विर्मी खड्काले दोस्रो किस्ता रकम पाएपछि ऋण तिरौँला भनेर आवास निर्माण गरिए पनि दोस्रो किस्ता नपाएपछि समस्या भएको बताईन् ।

घर बनाउने जमिनबाहेक खेती लगाउने जमिन नभएका आर्थिक अवस्था कमजोर भएका गरिब, दलित, विपन्न वर्ग समस्यामा परेका छन् । भेरी नगरपालिका–३ का हिटलर सिंह राठौरले दोस्रो किस्ताबापतको २५ हजार पाएपछि साहु तिरौँला भनेर बसेको महिनौँ बिते पनि स्थानीय सरकारले चासो नदिएको बताए । अस्थायी आवासकै अनुदान पाउन ढिलाइ भएपछि स्थायी आवास सहजै बन्नेमा भूकम्प प्रभावित विश्वस्त छैनन् । नलगाड नगरपालिका ०१ का कमल महर अस्थायी आवासको अवस्था हेर्दा सहजै र तत्कालै स्थायी आवास निर्माण हुने नदेखेको बताए । अव बर्खा आउन लागेको र अस्थायी आवासमा बर्खा काट्न मुस्किल हुने उनको भनाई छ । ३९ हजार ८२३ जनाले पहिलो किस्ताका लागि पालिका सँग सम्झौता गरेका छन् ।

बारेकोट गाउँपालिका —०२ रोकायगाउँकी सुनिता विकको घर गत कार्तिक १७ गतेको शक्तिशाली भूकम्पले चिराचिरा पारिदियो । भूकम्पले घर बस्न नमिल्ने बनाएपछि तत्काल त्रिपालमा उनको परिवार सर्याे । हिउँदे कठ्यारिदो जाडोमा उनको परिवारले आधा हिउँद काटे । त्यसपछि गत माघ पहिलो साता लाभग्राही कायम गरी स्थानीय सरकारले अस्थायी आवास वापतको पहिलो किस्ता २५ हजार रुपैयाँ उनको खातामा हालिदियो । त्यही २५ हजारको साहारामा उनले जस्तापाता खरिद गरिन् । ‘मैले ३० वटा जस्तापाता खरिद गरेकी थिए, त्यसको मुल्य ३७ हजार बढी भयो, उनले भनिन्, ‘खरिद वापतको भाडा र जस्ताको मुल्य त्यति प¥र्याे, स्थानीय साहुलाई दोस्रो किस्ता आएपछि बाँकी दिउँला भने अहिले पैसा आउने सुरसार छैन् ।’

‘साहुले अहिले पैसा दिनुहोस् भनेर हैरान पारेका छन्, चामल खाने पैसा छैन्, कहाँ बाट दिने ? उनले थपिन्, ‘हिजो मात्रै साहु आएर पैसा दिनुहोस्, चेक काट्नुहोस् भन्दै थर्काएर गए ।’ सोही गाउँका दानबहादुर कामीको घर पनि भुकम्पले भत्कायो । लामो समय त्रिपालमा बसेको उनको परिवारलाई माघमा सरकारले पहिलो किस्ता हालिदियो । पहिलो किस्तामा बाँकी साहु सँग उधारो राखेर अस्थायी आवास निर्माण गरे । पुरै जस्ताले अस्थायी आवास बनाएका उनले ६० हजार बराबरको आवास निर्माण गरेका छन् । उनले भने, ‘हामी सँग एउटा पैसा पनि थिएन्, सरकारले पठाएको २५ हजारमा ३५ हजार ऋण काढेर आवास बनायौं, साहुलाई दोस्रो किस्ता आएपछि पैसा दिउँला भनेर चेक समेत काटिदिएको छु ।

तर खातामा पैसा आएको छैन् साहुले पैसा माग्दै फोन गरिरहेका छन् ।’ गाउँमा फैलिएको अनिवार्य जस्ता खरिद गर्ने अफवाहले जस्ता खरिद गरे । गोजीमा सुक्को पैसा नभएका उनले ऋण काढेर समेत अस्थायी आवास बनाए । अहिले उनी साहुको चपेटामा छन् । पैसा कहिले दिनुहुन्छ भन्दै साहुले फोन गरिरहने गरेको उनले बताए । उनीहरु त उदाहरण पात्र मात्रै हुन् । जाजरकोटका अधिकांश भूकम्प पीडितहरुमा यो समस्या थपिएको छ ।

ऋण काढेर अस्थायी आवास निर्माण गरेका पीडितहरुलाई साहुले पैसा मागेपछि समस्या भएको हो । छिट्टै दोस्रो किस्ता पाईहाल्ने आशामा उनीहरुले जस्तापाताहरु पसलहरु उधारो खरिद गरे । साहुहरुले पनि दिए । तर अहिले भूकम्पको पाँच महिना पुग्दा समेत दोस्रो किस्ता पाउन सकेका छैनन् । दोस्रो किस्ता नआउँदा साहुको धम्की समेत सहनुपरेको कुशे गाउँपालिका —०४ का कालीबहादुर शाहीले बताए । दोस्रो किस्ताका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण कार्यविधि २०८० बमोजिम विपद् पोर्टलमा इन्ट्री गर्नुपर्छ । अहिले यहाँका स्थानीय तहहरु विपद् पोर्टलमा भूकम्प पीडितको नाम सवमिट गर्न व्यस्त छन् ।

‘पत्रकारहरुले पुर्ननिर्माणमा जोड गरौं’
पुर्ननिर्माणका विषयमा पत्रकारहरुले जोडदार खबरदारी गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको १२ औं साधारण सभामा उपस्थित अधिकांश सरोकारवालाहरुले पुर्ननिर्माणमा विषयमा जोड गर्न आग्रह गरेका हुन् । भूकम्प पीडितहरु अहिले सम्म अस्थायी आवास निर्माणमा सम्झौता नै गर्न सकेका छैनन् । अस्थायी आवास निर्माण सँगसँगै स्थायी आवास निर्माणमा पत्रकारहरुले पत्रकारिता मार्फत राज्यलाई खबरदारी गर्नुपर्ने पत्रकार महासंसका केन्द्रीय सदस्य भीमबहादुर सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय