हाम्रो बारेमा

हिमालय पत्र मिडिया प्रा.लिद्धारा लाइटखबर शुभारम्भ भएको छ । कर्णाली प्रदेश अन्तर्गत दुर्गम जिल्ला जाजरकोट बाट पत्रकारिताको उचाईमा थप टेवा पुग्ने छ भन्ने विश्वासका साथ यो अनलाइन सञ्चालनमा ल्याएका छौं । विभिन्न सञ्चार माध्यमहरु समेत सञ्चालन गर्न समस्या भईरहँदा यतिखेर अनलाइन पत्रिका सुरु गर्नु सहज नहुने नै छ ।
उसै पनि संचार माध्यमलाई हावाको खेती भन्ने गरिन्छ । अझ अनलाईन अनावश्यक सूचना, समाचार सम्प्रेषण गर्ने माध्यम हो भन्ने आम बुझाई छ । सञ्चार माध्यमहरुको हतारो अभ्यासले देखाएको बाटो हो यो । को भन्दा को छिटोका कारण गलत समाचार सम्प्रेषणले सत्य घटना प्रति पनि जनताको विश्वास गुम्दै गएको छ ।
आर्कषक शिर्षक बनाएर मानिसलाई क्लिक गर्न लगाउने तर सामग्री अर्कै राख्ने कारण पनि अनलाईनको लोकप्रियता बढेपनि विश्वसनियता घट्दै गएको छ । यो डिजिटल पत्रिकालाई विश्वासिलो सावित गर्न हामी मोफसलबाट जुटेका छौँ । हामीलाई अब्बल सावित गर्न यहाँहरुको साथ सहयोग रहने नै छ भन्ने आशा राखेका छौं । हामीसँग ठूला संकल्प छैनन् ।

न ठूला प्रतिबद्धता र योजना छन् । सकेसम्म हामी हरेक जनताका आवाजलाई स्थान दिने कोशिस गर्नेछौँ । पत्रकारिताको मूल्य मान्यतामा रहेर ईमान्दारपूर्वक काम गर्नेछौँ ।
निरंकुश शासनले सञ्चार माध्यम माथि लगाएको प्रतिबन्ध लोकतन्त्रले स्थापित गरेको थियो । त्यसैको जगमा सञ्चार माध्यमको विकास र विस्तारले नेपालमा ठूलो फड्को मारेको छ । आज हामी त्यहीं आन्दोलनको बलमा स्थापना भएको व्यवस्थामा स्वतन्त्र रुपमा लेख्ने, बोल्ने र अभिव्यक्ति गर्ने स्वतन्त्रताको प्रयोग गरिरहेका छौँ । लोकतन्त्र र गणतन्त्र प्राप्तीको लामो अवधिमा पनि जनताका आकांक्षा पूरा भएका छैनन् ।

लोकतन्त्र सुदृढ हुन सकेको छैन । भ्रष्टाचार र अनियमितताका श्रृङ्खला बढेका छन् । जति अपेक्षा हुन्छ स्वभावैले उति निराशा पनि हुन्छ । जनतामा अहिले त्यस्तै निराशा छाएको छ । गलत काममा हाम्रो खबरदारी हुनेछ भने राम्रो कामको हामी प्रशंसा गर्नेछौं ।

हाम्रो लोकतन्त्रको सुन्दर पक्ष भनेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीता हो । राज्यबाट पिछडिएको, अपहेलित भएको महसुस गरेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, सिमान्तकृत अल्पसंख्यक, पिछडिएको क्षेत्रका अझै असन्तुष्टीहरु छन् ।

राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै लोकतन्त्रलाई बलियो र आम जनतालाई अपनत्व दिलाउन गरिने अभियानमा हाम्रो साथ रहनेछ ।
देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको यात्रामा छ । यो यात्रा तीव्र हुनुपर्दछ । र, यो यात्रामा हरेक कुरामा नागरिक सचेत हुनुपर्दछ । खबरदारी जारी राख्नुपर्दछ । जनताको खबरदारी अभियानमा लाइटखबर सँगै हुनेछ । पाठक, दर्शक र स्रोता, लाइटखबर तपाईंकै हो ।
रचनात्मक आलोचना, सुझावको अपेक्षा छ । अरुको खबरदारी गर्ने हामीलाई पनि खबरदारी चाहिन्छ । हामी विश्वास दिलाउन चाहन्छौँ, लाइटखबर हरेक जनताका आवाज बोक्ने सत्य, निष्पक्ष, स्वतन्त्र र भरपर्दो व्यावसायिक पत्रकारिताको एक स्तम्भ हुनेछ ।

कर्णाली प्रदेश भित्रका जनचासोका विविध आयामहरुमा केन्द्रित रहेर समाचार र विचार प्रकाशन गर्ने माध्यम हो । हामी आफूलाई गणतन्त्र,लोकतन्त्र र प्रजातन्त्रका हिमायती र उदार आर्थिक प्रणालीका पक्षधर हौँ भन्न हिच्किचाउँदैनौ । गरिब र पिछडिएका जनताका पक्षमा सरकारको सशक्त उपस्थिती र लोक प्ररोपकारी कार्यकारीको महत्वलाई पनि अस्वीकार गर्दैनौ ।
जनताका नैर्सिगक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता नगर्ने प्रतिवद्धता ब्यक्त गर्न चाहन्छौं ।
जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारिता मार्फत् लाइटखबर पाठक समक्ष उपस्थित भएको छ ।
हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै जननताको समस्या हाम्रो पहुँच मार्फत उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।
पत्रकारिताका मूलभूत मूल्य मान्यतामा सम्झौता नगरी लोकतान्त्रिक संस्कार सहितको मानवअधिकार प्राप्तीको पक्षमा सदैव कटिवद्ध रहने छौं ।